Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन १४ गते ।

गौर हत्याकाण्ड पीड़ति संघर्ष समितिले भोलिदेखि गर्ने घोषणा गरेको अनिश्चितकालिन रौतहट बन्दको कार्यक्रम स्थगित गरेको छ । आइतबार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै संघर्ष समितिकी संयोजक रुपसागर देवीले आन्दोलनको कार्यक्रममा परिमार्जन गरी अनिश्चितकालिन बन्दको कार्यक्रम तत्कालका लागि स्थगित गरेको जानकारी गराएकी छन् ।

सत्ताधारी पार्टीहरु आन्दोलनमा मुठभेट सृजना गर्न खोजेकाले बन्दको कार्यक्रम तत्कालका लागि परिमार्जन गरिएको र अन्य कार्यक्रम यथावत रहने संघर्ष समितिले जनाएको छ ।

१७ वर्ष अघि २८ जनको ज्यान जाने गरी गौर हत्याकाण्ड भएको थियो । जसमा दर्जनौ व्यक्ति घाइते भएका थिए । घटनाको मुख्य अभियुक्त तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बनाउँदै २५३ जनामाथि जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो ।

घटनाका दोषीहरुमाथि कारबाहीको माग गर्दै संघर्ष समितिले आन्दोलन थालेको छ । साउन १ गते स्थानीय प्रशासनलाई ज्ञापन पत्र बुझाएको संघर्ष समितिले शुक्रबार पालिका पालिकामा घटना विषयमा जानकारी, गराएका थिए भने शनिबारदेखि रौतहटको चपुरमा पीडित परिवारहरु आमरण अनशनमा बसेका छन् । आज रौतहटमा मोटरसाइकल जुलुस प्रदर्शन गरेका छन् ।
रौतहट बन्दको कार्यक्रममा जोरजवरजस्ती व्यवसाय वा जनतालाई दुःख दिने कार्य गरे प्रतिकार गर्ने जसपाले चेतावननी दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *