Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, १४ साउन । मुस्लिम धर्मावलम्बीले मोहर्रम पर्व अर्थात दाहा मनाइरहेका छन् । इस्लामी नयाँ वर्ष १४४५ हिजरीको सुरुआतसँगै यो पर्व दश दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइन्छ । जनकपुरधाममा पनि मुस्लिम धर्मावलम्बीहरूले दाहा पर्व मनाइरहेका छन् । उनीहरूले हरेक वर्ष जस्तै यस वर्ष पनि बाह्बिगहा रंगभूमि मैदानमा मोहर्रम पर्व मनाएका हुन् ।

मुस्लिम धार्मिक गुरु हजरत इमामे हुसैनको सम्झनास्वरूप मनाइने यो पर्वमा मुस्लिम धर्मगुरुको प्रतीकस्वरूप तहजिया दाहाको पूजा गर्ने परम्परा रहेको छ । तहजियालाई पूजा गर्नाले पारिवारिक सुख, समृद्धि तथा मनोकामना पूरा हुने विश्वास रहेको छ । मुस्लिमहरूले मुहर्रमका अवसरमा साहसिक प्रदर्शन पनि गर्छन् ।

१४ सय वर्षअघि इमामे हुसैनले इस्लाम धर्मलाई बचाउन आफूसहित ७२ जनाको परिवारले प्राण आहुति दिएको सम्झनास्वरूप मुहर्रम मनाउँदै आएको मुस्लिम धर्मगुरुहरू बताउँछन् । यो महिनामा नै इस्लाम धर्मका प्रर्वतक हजरत मोहम्मद पैगम्बरका नाति हजरत हसन र हुसैनले इस्लाम धर्मको रक्षाका लागि आफ्नो ज्यानको कुर्बानी (बलिदानी) दिएका थिए ।

इमाम हुसैनले अल्लाहसँग आफ्ना हजुरबुबा मोहम्मदलाई मान्ने सम्पूर्ण मुसलमानलाई जन्नत (स्वर्ग) पुर्‍‍याउन गरेको बाचाअनुरूप बदलामा हुसैन इराकको राजधानी करबला बग्दादमा सहीद भएको सम्झनामा संसारभरका मुसलमानले मोहर्रम मनाउँदै आएको मौलनाहरू बताउँछन् ।

हुसैन इराकको राजधानी बगदादको करबला भन्ने ठाँउमा यजिदी फौजसँगको धर्मयुद्धमा शहीद भएका थिए । हुसैनले इस्लाम र मानवताको रक्षा गर्न आफ्नो परिवार र साथीहरूको लागि बलिदानी दिएका थिए । मुस्लिम धर्मावलम्बीले मनाउने महान् पर्व मोहर्रम केही वर्षयता हिन्दू समुदायले पनि सँगसँगै मनाउन थालेपछि यो सद्भावको पर्व बन्दै गएको छ । यसले हिन्दू र मुस्लिमबीच एकता अझै प्रगाढ बनाउने विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *