जनकपुरधाम, १४ साउन । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ ।
जनकपुरधाममा आइतबार कार्यक्रम गरी दुबै पार्टीले एकीकरण भएको घोषणा गरेका हुन् । कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले मधेशवादी दलहरूले आफूलाई धोखा दिएको आरोप लगाएका छन् । मधेश थरुहट आन्दोलनका राजबन्दीको रिहाइका लागि मधेशवादी दलहरूले प्रयास नगरेको पनि उनले आरोप लगाए ।
जनकपुरधाम जान नदिनका लागि मधेशवादी नेताहरूले प्रतिबन्ध लगाउने प्रयास गरेकोसमेत चाैधरीले आरोप लगाए । उनले आफूले मधेशको आन्दोलनका लागि लड्दा साढे ८ वर्षसम्म जेलमा बस्नुपरेकोसमेत बताए ।
नेता चौधरीले अबको निर्वाचनमा मधेश प्रदेशमा अत्यधिक मतले जितेर मधेश सरकारको नेतृत्व गर्ने पनि दाबी गरे । दुबै दलबीच एकीकरणका तीनबुँदे आधार तय गरिएको छ ।
जसअनुसार एकता महाधिवेशनसम्मका लागि एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नै रहनेछ । त्यस्तै महाधिवेशनसम्म पार्टीको झण्डा, चुनाव चिन्ह, छाप र विधान नागरिक उन्मुक्ति पार्टीकै रहनेछ । साथै, केन्द्रीय निकायदेखि स्थानीय तहसम्मका पदाधिकारी तथा सदस्यहरूको समायोजन दुबै पार्टी आन्तरिक सहमतिअनुसार हुने सहमति भएको छ ।
कार्यक्रममा नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो, महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुलगायत दुबै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरू उपस्थित थिए ।