Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, १२ साउन । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र सिंहले प्रदेशभित्रका सबै प्रादेशिक अस्पतालको स्तरोन्नति कार्य सुरु भइसकेको बताउनुभएको छ । जनकपुरधाममा बिहीबार पालिकाका जनप्रतिनिधि तथा अस्पतालहरूका चिकित्सक तथा स्वास्थ्यकर्मीसँगको अन्तर्कियामा मन्त्री सिंहले यस्तो बताउनुभएको हो ।

उहाँले आठवटै जिल्लाका प्रादेशिक अस्पतालहरू रेफरल अस्पताल जस्तै भएको भन्दै यी अस्पतालहरूको व्यवस्थापकीय पक्षमा सुधार कार्य सुरु भइसकेको बताउनुभयो । जनशक्ति व्यवस्थापनका साथै अस्पतालहरूको स्तरोन्नतिका लागि बेड संख्या बढाउने कार्य भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्री सिंहले मधेशको स्वास्थ्य क्षेत्रमा धेरै नै बेतिथि र विसंगतिहरू रहेको स्वीकार गर्दै यसलाई अन्त्य गर्न आफू लागिपरेको पनि बताउनुभयो । प्रादेशिक अस्पतालहरूलाई व्यवस्थित मात्र गर्ने हो भने पनि धेरै समस्याको समाधान हुने उहाँको दाबी छ ।

मन्त्री सिंहले अस्पतालहरूमा उपकरण, जनशक्ति र भौतिक पूर्वाधारबीच तारतम्य नमिलेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उपकरण भएका ठाउँमा जनशक्ति छैन । जनशक्ति भएका ठाउँमा उपकरण छैन । जहाँ जनशक्ति र उपकरण छ त्यहाँ भौतिक पूर्वाधार छैन । व्यवस्थापकीय पक्ष नै मिलेको छैन । त्यसकारण पनि मधेशका नागरिकहरू गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ ।’

स्वास्थ्य सूचकांकमा सबैभन्दा पछाडि रहेको मधेश प्रदेशलाई कसरी स्वस्थ प्रदेश बनाउने कुरालाई आत्मसात गर्दै आफूहरू लागिपरेकोसमेत मन्त्री सिंहले बताउनुभएको थियो ।

कार्यक्रममा संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, संघीय स्वास्थ्य सचिव डा. रोशन पोखरेल, मधेश स्वास्थ्य सचिव डा. प्रमोद यादव, जनकपुरधामका नगर प्रमुख मनोजकुमार साहलगायत सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *