Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, ०२ साउन । जनकपुरधाममा प्रथम हरवाचरवा मुक्ति दिवस मनाइएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले हरवाचरवा मुक्ति दिवसको अवसरमा मंगलबार गरेको कार्यक्रममा सहभागीहरूले हरवाचरवाहरूको अझै पुनर्स्थापना हुन नसकेको गुनासो गरेका छन् ।

कार्यक्रममा मञ्चका अध्यक्ष दशनलाल मण्डलले एक वर्षअघि मुक्तिको घोषणा गरिए पनि हालसम्म लगत सङ्कलन तथा पुनर्स्थापना कार्यक्रम अगाडि बढ्न नसकेको गुनासो गर्नुभयो । उहाँले अधिकार मञ्चसँग भएको चारबुँदे सहमतिअनुसार तत्काल पुनर्स्थापनाका कार्यक्रम अगाडि बढाउन पनि सरकारसँग आग्रह गर्नुभयो । त्यस्तै, कार्यक्रममा सहभागी हरवाचरवा मुक्ति अभियानीहरूले हरवाचरवाका लागि राज्यले उपलब्ध गराउने सुविधाहरू पहुँचबालाको खोस्ने गरेको गुनासो गरेका छन् ।

कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्द न्यौपानेले मुक्त हरवाचरवाले कृषि क्षेत्रमा पहुँच बढाउनुपर्ने बताउनुभयो । उहाँले हरवाचरवालाई कृृषि क्षेत्रमा प्रतिबद्ध भएर लाग्न आग्रह गर्दै कृषि मन्त्रालयको बजेटमा आफ्नो सहभागिता खोज्न पनि सुझाव दिनुभयो ।

त्यस्तैगरी कानुन व्यवसायी तथा अधिकारकर्मी बालाराम भट्टराईले एक वर्षअघि हरवाचरवा मुक्त घोषणा गरिए पनि उनीहरूको लगत संकलनलगायत कार्यक्रम मधेश सरकारद्वारा गराउन र उनीहरूको आवासलगायतको व्यवस्थाका लागि आफूहरूले दबाब दिँदै आएको बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका सांसद रत्नेश्वरलाल गोइत, माला कर्ण, मधेश नीति तथा योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीलगायत सहभागी भएका थिए । ऐनअनुसार बाध्यकारी श्रमबाट मुक्त भएकाहरूले ऋण तिर्नु नपर्ने, लिखत वा सम्झौता रद्द हुने, बन्धक वा जमानत लिएको सम्पत्ति फिर्ता गर्नुपर्ने व्यवस्था छ । २०७९ साउन २ गते सरकारले मधेशका हरवाचरवा मुक्तिको घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *