भारत, ०२ साउन । भारतको गुजरातमा भइरहेको जी–२० अर्थमन्त्रीहरूको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सितारामणबीच द्विपक्षीय साइडलाइन बैठक भएको छ । बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको हो ।
नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुवै अर्थमन्त्रीले जोड दिए । अर्थमन्त्री महतले नेपालका प्रधानमन्त्रीको भारत भ्रणका क्रममा सम्पन्न विद्युत निर्यातसम्बन्धी समझदारी कार्यान्वयनबाट आगामी दस वर्षमा १० हजार मेगावाट जल विद्युत भारत निकासी भई व्यापार घाटा घटाउन मद्दत मिल्ने बताए ।
भारतका अर्थमन्त्री महतले एन पीएचएल र भारतको इन्टरनेशनल पेमेन्ट लिमिटेडबीच भएको समझदारी बमोजिम संयुक्त विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयन गर्न छिटो काम अघि बढाउन अनुरोध गरेका थिए । जी-२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा भाग लिन अर्थमन्त्री महत असार ३१ गते भारत भ्रमणमा गएका हुन् ।
अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र मन्त्रीका निजी सचिव युवराज पाण्डे पनि भ्रमण टोलीमा छन् । अर्थमन्त्री बुधबार नेपाल फर्किनेछन् ।
नेपाल जी-२० मुलुकको सदस्य नरहेपनि अतिथि सदस्यका रूपमा अर्थमन्त्री महतले बैठकमा सहभागिता जनाएका हुन् ।