काठमाडौँ, ३१ असार । मिटरब्याजीविरुद्धको विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकले ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतिले पारित गरेको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको यो विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गर्दा सर्वसम्मतिले विधेयक पारित भएको हो ।
अनुचित आर्थिक लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र घरसारमा हुने लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथ सरकारले गत वैशाख २० गते अध्यादेश ल्याएको थियो । सोही अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विधेयक पारित भएको हो ।
यो विधेयक असार २० गते नै पारित गर्ने तयारी गरिएको थियो । तर, नेकपा एमालेको अवरोधका कारण प्रक्रिया अगाडि बढ्न सकेको थिएन भने अर्कोतर्फ त्यसैदिनबाट अध्यादेश पनि निष्कृय हुन पुगेको थियो । आइतबार विधेयक पारित भएसँगै मिटरब्याजपीडितहरू खुशी भएका छन् ।