काठमाडाैँ, ३१ असार । जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा.अमरप्रसाद यादव नियुक्त हुनुभएको छ । संघीय सरकारले प्रा.डा.यादवलाई राजर्षि जनक विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त गरेको हो । यादव सिरहाको मिर्चैया भगवतपुर निवासी हुनुहुन्छ । संघीय सरकार मातहतको यो विश्वविद्यालय लामो समयदेखि उपकुलपतिविहीन थियो ।
उपकुलपति, रजिष्ट्रार, क्याम्पस प्रमुखलगायत मुख्य पदाधिकारीहरू नै नहुँदा विश्वविद्यालयको पठनपाठन प्रभावित हुँदै आएको थियो । केही दिनदेखि विद्यार्थीहरूले आन्दोलनसमेत चर्काएका थिए । उनीहरूले तीनवटै सरकारविरुद्ध प्रदर्शन गर्दै आएका थिए ।
कहिले करारमा राखिएका शिक्षकहरूको आन्दोलन त कहिले विद्यार्थीको आन्दोलनका कारण विश्वविद्यालय शिक्षाको नभई विवादको थलोका रूपमा परिणत हुँदै गइरहेको थियो । विवादित बन्दै आइरहेको सो विश्वविद्यालय पदाधिकारीविहिन हुँदा शैक्षिक गतिविधि झन् अस्तव्यस्त बन्दै गइरहेको थियो ।
यो विश्वविद्यालयमा बीए, एलएलबी, बीबीए, बीसीए, बीएससीआइटी, बीएमएलटी, बीपीएच र एमबीएको पठनपाठन हुँदै आइरहेको छ । यो विश्वविद्यालयअन्तर्गत एक मात्र क्याम्पस रहेको छ । जनकपुरधामको रामानन्द चोकस्थित क्याम्पसमा करिब पाँच सय विद्यार्थी अध्ययनरत छन् ।