सामाजिक फीड-
जनकपुरधाम, असार ३१ गते ।
पशुमा फैलिएको महामारी लम्पी स्किन रोग नियन्त्रण गर्न मधेश सरकारले औसधि खरिद गर्ने भएको छ । गृह सञ्चार तथा कानुन मन्त्रायमा आज गृहमन्त्री समेत रहेका मुख्यमन्त्री सरोजकुमार यादवको अध्यक्षतामा बसेको विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले लम्पी स्किन रोग नियन्त्रणको लागि पशुलाई लगाउन एलएसडी नामक भ्याक्सिन खरिद गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई ७७ लाख रुपैयाँफउपलब्ध गराउने निर्णय भएको मन्त्रालयका सचिव उमेश ढकालले जानकारी दिए ।
उनका अनुसार बैठकबाट प्रदेश मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना स्वीकृत गर्ने, हाल वर्षातको मौसम रहेकोले बाढी, डुबान, कटान, चट्याङ्ग लगायतका घटनाहरुबाट हुन सक्ने धन जनको क्षतिलाई न्यूनीकरण गरी राहत, उद्धार कार्यलाई तदारुकताका साथ गर्न गराउन सबै सरकारी एवं गैरसरकारी निकायहरुलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।
यस्तै सम्भावित विपदका पूर्व तयारी तथा राहत उद्धारका लागि, नेपाली सेना, मधेश प्रदेश प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले उपलब्ध स्रोत साधन एवं उपकरणहरुको प्रयोग गरी राहत, उद्धार कार्यहरु गर्ने गराउने । सो कार्यमा आवश्यक सहयोग, सहजीकरणका लागि स्थानीय विपद् व्यवस्थापन समितिहरुलाई अनुरोध गर्ने लगायतको निर्णय भएको छ ।
यस्तै विपद सम्बन्धी अति आवश्यक सामग्रीहरु खरिद गर्नको लागि प्रदेश विपद व्यवस्थापन कोपबाट आट वटै जिल्ला प्रशासन कार्यालयलाई पाँच लाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको सचिव ढकालले बताए ।