जनकपुरधाम, ३१ असार । मधेश प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य भएको छ । आइतबार बसेको प्रदेशसभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले पठाएको पत्र पढेर सुनाउँदै सभामुख रामचन्द्र मण्डलले पहिलो अधिवेशन आज रातिबाट अन्त्य भएको जानकारी दिनुभएको हो ।
मधेश प्रदेशसभाका नयाँ जनप्रतिनिधिहरूले २०७९ पुष १५ गते सपथ लिएका थिए । त्यसपश्चात् पुष १८ गतेबाट पहिलो अधिवेशन सुरु भएको थियो । पहिलो अधिवेशनका क्रममा ७ वटा विधेयक सभामा दर्ता भएका छन् । त्यस्तै, दुई वटा विधेयक प्रमाणीकरण भएका छन् ।
एक वटा विधेयक पारित भई प्रमाणीकरणको चरणमा रहेको छ भने चार वटा विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ । त्यसैगरी, यो अधिवेशनमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत भई पारित भइसकेका छन् । पहिलो अधिवेशनको अवधिमा ३६ वटा बैठक सञ्चालन भएको सभामुख मण्डलले जानकारी छ ।