काठमाडौँ, २९ असार । निर्माण कार्यको भुक्तानीमा रोक लगाएको भन्दै निर्माण व्यवसायीहरूले धर्ना दिएका छन् । निर्माण व्यवसायीहरूले शुक्रबार माइतीघर मण्डालमा भुक्तानी तत्काल दिनुपर्नेलगायत माग राख्दै धर्ना दिएका हुन् ।
उनीहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामासमेत माग गरेका छन् । व्यवसायीहरूले माइलस्टोनको व्यवस्था खारेज गर्नुपर्ने, मूल्य समायोजन कार्यान्व्यन गर्नुपर्ने, असार मसान्तमा निर्माण कार्यको बाँकी रकम भुक्तानी गर्नुपर्ने, निर्माण कार्यको म्याद थप गर्नुपर्नेलगायत माग राखेका छन् ।
असार मसान्तसम्म निर्माण व्यवसायीले गरेका कामको भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।
उनले सरकारले भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको, मजदुरलाई पारिश्रमिक दिन नसकेकोलगायतका समस्या भोग्नुपरेको भन्दै भुक्तानी गर्न नसके तत्काल यस्ता आयोजनाहरू खारेज गर्नुपर्ने बताए । निर्माण व्यवसायीहरूसँग सम्झौता गरेर भुक्तानी गर्न सक्दिनँ भन्न सरकारले नपाइने पनि उनकाे भनाइ थियो ।