रौतहट, २९ असार । रौतहटको देवाही गोनाहीमा एक जनाको हत्या भएको छ । गएराति घरमा सुतिरहेका बेला देवाही गोनाही– ६ कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साहको हत्या भएको हो ।
उनको घाटीमा धारिलो हतियारले प्रहार भएको देखिएको रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले बताएका छन् । आफ्नै कोठामा रहेको खाटमा उनको शव फेला परेको पनि प्रहरीले जनाएको छ ।
साहकी श्रीमतीले राति चार जना घरभित्र प्रवेश गरी आफूलाई छेउको कोठामा थुनेर श्रीमानको हत्या गरेको बताएकी छिन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।