Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, २७ असार । झापाको झापा गाउँपालिका अध्यक्ष जयनारायण साहसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्ष साहका साथै तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षसिहत ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

गाउँपालिकास्थित लक्ष्मीमार्ग सडकखण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म ७ किलोमिटर बाटो बनाउनको लागि गाउँपालिकाबाट विनियोजन भएको रकम हिनामिना गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा बुधवार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास र सव–इन्जिनियर विज्ञान चम्लागाँईले झुट्ठा बिल भरपाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार पारेको पुष्टि भएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । आर्थिक वर्ष २०७४/७५ मा विनियोजित रकमबाट गाउँपालिकाको वडा नम्बर ३, ६ र ७ स्थित ‘लक्ष्मीमार्ग बाटो उच्चस्तरीय ग्राभेल योजनाको झुट्ठा बिल भरपाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार पारेर २२ लाख ९ हजार ८२३ रुपैयाँ हिनामिना गरेको पाइएको थियो ।

लक्ष्मी मार्ग बाटो उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्रप्रसाद खरेल र कोषाध्यक्ष शान्तादेवी सुव्वाले सम्झौता बमोजिमको काम नगरी भ्रष्टाचार गरेको आयोगको ठहर छ । त्यस्तै, गाउँपालिकाका अध्यक्ष साहले उपभोक्ता समितिलाई बदनियतले सिफारिस गरी वास्तविक भए गरेको कामभन्दा बढी भुक्तानी दिएको दाबी गर्दै आयोगको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

यस्तै, अनुगमन तथा सुपरीवेक्षण समितिको संयोजक रहेकी गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले योजना सम्पन्न भइसकेको भनी उपभोक्ता समितिलाई भुक्तानी गर्न सिफारिस गरेको पाइएको आयोगले जनाएको छ । यस्तै, अनुगमन तथा सुपरीवेक्षण समितिको सदस्य रहेका वडा नम्बर ६ का तत्कालीन वडाध्यक्ष हरिबहादुर बानिया, वडा नम्बर ७ का तत्कालीन वडाध्यक्ष नेत्रप्रसाद उप्रेती र वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष मोतिलाल गणेशको समेत मिलेमतो देखिएकाले उनीहरुविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *