काठमाडाैँ, २७ असार । भ्रष्टाचार गरेको आरोपमा १३ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधामस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत सहकारी तथा गरिबी निवारण शाखाका वरिष्ठ शाखा अधिकृत ओमनारायण झाविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार प्रदेशका आठवटै जिल्लामा सहकारीसम्बन्धी आयमूलक तालिम सञ्चालन गर्दा भ्रष्टाचार गरेको आरोपमा झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । आयोगले झाविरुद्ध सात लाख एक हजार तीन सय ८० रुपैयाँ जरिवाना र बिगोसमेत असुल उपरको माग गरेको छ ।
त्यस्तै आयोगले झालाई भ्रष्टाचार गर्न सहयोग गर्ने नैँशी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर अरहुला कुमारीविरुद्ध पनि मुद्दा दायर गरेको छ । सरकारलाई हानी पुर्याउने गरी झुठा बिल भरपाई तयार गरेको आरोपमा अरहुलाविरुद्ध बिगो तीन लाख ६७ हजार आठ सय ८० रुपैयाँ कायम गरी मुद्दा दायर गरिएको हो । साथै आयोगले बुधबार नै थप ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।