झापा, २७ असार । सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगरस्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नर्सरीमा अध्ययनरत आठ वर्षे बालक तान्छोपहाङ लिम्बूको सोमबार सेप्टिक ट्याङ्कीमा डुबेर मृत्यु भएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा विद्यालयका प्रिन्सिपल मेचीनगर-११ का ४५ वर्षीय मनोज गुरुङ र ३५ वर्षीया रमा सुनार र मेचीनगर–१० की २४ वर्षीया अनिसा पोखरेल छन् । मन्टेश्वरीका सञ्चालक काठमाडौँ–३१ निवासी ४२ वर्षे सुरेन रसाइली भने फरार छन् ।
मृतक बालकका बुवा खर्कबहादुर लिम्बू र आमा मेरिना लिम्बूले चार जनाविरुद्ध लिखित किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
बालकको उपचारका क्रममा मङ्गलबार मृत्यु भएको थियो । गुरुङ र रसाइली विद्यालयका साझेदार हुन् भने पोखरेलले संयोजक र सुनार कर्मचारीका रूपमा काम गर्दै आएका थिए ।