जनकपुरधाम, २५ असार । मैथिली भाषा अभियानीहरूले मैथिलीसहित मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने माग गरेका छन् । सोमबार मैथिली भाषा, साहित्य र कलासम्बद्ध संघसंस्थाका प्रतिनिधिहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई स्मरणपत्र बुझाउँदै भाषा आयोगले मैथिली, भोजपुरी र बज्जिका भाषालाई मधेशको कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्न सिफारिस गरेको हुँदा कानुन बनाएर अविलम्ब घोषणा गर्न माग गरेका हुन् ।
उनीहरूले मधेश प्रदेशको भाषिक सघनता र विस्तारको दृष्टिमा मैथिली सरकारी कामकाजको भाषाका रूपमा पूर्ण रूपमा सक्षम रहेको पनि जिकिर गरेका छन् । आफूहरूले मैथिली भाषा, संस्कृतिलगायतका मुद्दाहरू सम्बोधन गर्न पटकपटक मधेश सरकारलाई ध्यानाकर्षण गराए पनि बेवास्ता हुँदै आएको गुनासो गरेका छन् ।
प्रदेशवासीका भाषिक, सांस्कृतिकलगायत अधिकारलाई बेवास्ता गरिए मैथिलीसहित मातृभाषी समुदाय आन्दोलन उत्रिन बाध्य हुने चेतावनीसमेत दिएका छन् । मैथिली भाषा नेपालको दोश्रो र मधेशको पहिलो सबैभन्दा बढी बोलिने भाषा हो ।
२०७८ सालको जनगणनाअनुसार मधेश प्रदेशको कुल जनसंख्या ६१ लाख १४ हजार ६ सय छ । जसमध्ये २५ लाख ५१ हजार ९१७ जना अर्थात् ४१.७३ प्रतिशत मैथिली भाषी छन् । त्यस्तै, ११ लाख ४९ हजार ९६२ अर्थात् १८.८१ प्रतिशत भोजपुरी र ११ लाख २७ हजार २ सय ५५ अर्थात् १८.४४ प्रतिशत बज्जिका भाषी छन् । त्यसपछि क्रमशः नेपाली, थारु, उर्दु, मगही, तामाङ, हिन्दीलगायत भाषाहरू मधेशमा बोलिन्छन् ।
सोमबार मैथिली साहित्यकार सभाक सभापाल प्रेम विदेह ललनको नेतृत्वमा मिथिला नाट्यकला परिषद्का महासचिव शैलेन्द्र मल्लिक, रङ्गदर्पणक अध्यक्ष रितेश पाटली, मैथिली विकास कोषक सदस्य सचिव र साहित्यकार पत्रकार श्यामसुन्दर शशि, पत्रकार श्रीनारायण साह, कवयित्री पुनम झाले मुख्यमन्त्री यादवलाई स्मरणपत्र बुझाएका हुन् ।
स्मरणपत्रमा मैथिली साहित्यकार सभाक सभापाल ललन, मिनापका अध्यक्ष परमेश झा, रङ्गदर्पणक अध्यक्ष रीतेश पाटली, मैथिली विकास कोषक अध्यक्ष जीवनाथ चौधरी, डा. राजेन्द्र विमल साहित्य एकेडेमीका अध्यक्ष महेन्द्रकुमार मिश्र र सदस्य बैद्यनाथ पासवान, रामानन्द युवा क्लबका महासचिव रोशनकुमार मिश्र, महावीर युवा कमिटीका अध्यक्ष बलराम साह, गणेश युवा कमिटीक अध्यक्ष संतोषकुमार महतो, श्रीराम युवा कमिटीका अध्यक्ष प्रमेश्वर साह, रङ्ग वाटिका नेपालक कलानिर्देशक उपेन्द्र भगत नागवंशी र वरिष्ठ पत्रकार रामरिझन यादवले हस्ताक्षर गरेका छन् ।