Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २२ असार । शुक्रबार पनि एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ ।

बैठकको सुरुमै एमालेकी सांसद विमला घिमिरेले आफ्नो पार्टीले कुनै आग्रह, पूर्वाग्रह र कुण्ठाले भन्दा पनि राष्ट्र र जनताको स्वाभिमान र संसदको गरिमाको रक्षा गर्नका लागि प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद बैठक चल्न नदिने अडान लिनु परेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीले आफ्नो पदका लागि आत्मसमर्पण गरेकाले उहाँलाई नेपाली जनतालाई शासित गर्ने अधिकार नरहेको जिकिरसमेत गर्नुभयो । देशकै सम्माननित पदमा पुगेका प्रधानमन्त्रीले भारतीय नागरिक प्रितम सिंहबारे दिएको नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रियता, स्वाधिनता र भौगोलिक अखण्डता र नेपाली जनताको स्वभिमानमाथि आँच आउने गरी दिएको यो अभिव्यक्तिले सारा स्वाभिमानी नेपालीहरूको शीर झुकेको सांसद घिमिरेको भनाइ थियो ।

एमाले सांसदहरूले उठेर अवरोध गरेपछि अध्यक्ष गणेश तिमिल्सिनाले सदन सुचारु गराउन पटकपटक आग्रह गर्नुभएको थियो । तर आफ्नो अडानबाट एमाले सांसदहरू पछि नहटेपछि अध्यक्ष तिमिल्सिनाले असार २४ गते आइतबारसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *