काठमाडौँ, २० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहसहित सात जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
उनीहरूले गैरकानूनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको आयोगको आरोप छ । मधेश प्रदेश सरकारको अनुदानबाट आ.व. २०७७/०७८ मा संचालित योजनाहरूमा रकम निकासा गरी योजना संचालन एवं सम्पन्न नै नगराई रकम हिनामिना गरेको उनीहरुविरुद्ध आरोप रहेको छ ।
अख्तियारका अनुसार यस्तो कार्यमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानु, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सव–इन्जिनियर उपेन्द्र कुशवाहा संलग्न रहेका थिए । सिम्रौनगढ नगरपालिका वडा नं. २ स्थित रानीवास खेल मैदान निर्माण कार्यमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे/नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई, झुट्टा बिल भरपाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार पारिएको थियो ।
काम गरेकोभन्दा बढी मूल्याङ्कन गरी गराई एक लाख रुपैयाँ भन्दा बढी रकम भुक्तानी दिइएको पाइएको छ । उनीहरुविरुद्ध एक लाख पाँच सय अठ्सठ्ठी रुपैयाँ बिगो रकम कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
यस्तो छ अख्तियारको प्रेस विज्ञप्ति :
जिल्ला बारा, सिम्रौनगढ नगरपालिकाले मधेश प्रदेश सरकारको अनुदानबाट आ.व. २०७७/०७८ मा संचालित योजनाहरुमा रकम निकासा गरी योजना संचालन एवं सम्पन्न नै नगराई रकम हिनामिना गरेको भन्ने समेतको संसदीय अनुगमन विशेष समिति मधेश प्रदेशको प्रतिवेदन उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा जिल्ला बारा, सिम्रौनगढ नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानु, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, इन्जिनियर सुरेश कुमार यादव र सव-इन्जिनियर उपेन्द्र कुशवाहाले सिम्रौनगढ नगरपालिका, वडा नं. २ स्थित रानीवास खेल मैदान निर्माण कार्यमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे/नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई, झुट्टा बिल भरपाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी भए गरेको भन्दा बढी मूल्याङ्कन गरी गराई रु.१,००,५६८।७५ बढी रकम भुक्तानी दिने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) वमोजिम कसुर गरेको देखिन आएकोले निजहरु वीरेन्द्र प्रसाद साह कानु, सर्मेन्द्र प्रसाद चौधरी, सुरेश कुमार यादव र उपेन्द्र कुशवाहालाई बढी भुक्तानी दिएको रु.१,००,५६८।७५ (एक लाख पाँच सय अठ्सठ्ठी रुपैयाँ र पैसा पचहत्तर) बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद एवं जरिवाना गरी बिगो रकम असुल उपर हुन साथै प्रतिवादीहरु सुरेश कुमार यादव र उपेन्द्र कुशवाहाले उक्त संग्रहालय भवन निर्माण कार्यको गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गलत प्रतिवेदन दिने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम गलत प्रतिवेदन दिने कसुर गरेको देखिन आएकोले सोही ऐनको दफा १९ को उपदफा (२) वमोजिम कैद र जरिवाना हुन मागदाबी लिइएको छ।
जिल्ला बारा, सिम्रौनगढ नगरपालिका, वडा नं. २ स्थित रानीवास खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष सोनालाल प्रसाद यादव, सचिव नन्द किशोर साह कानु र कोषाध्यक्ष गीता कुमारी साहले नगरपालिकासँग भएको सम्झौताबमोजिमको शर्त पालना नगरी, लागत अनुमानबमोजिम गर्नुपर्ने सबै कामहरु नगरी कार्य सम्पन्न भएको भनी नभए नगरेको कार्यसमेत भए गरेको भनी भए गरेको भन्दा बढी मूल्याङ्कन गरी गराई रु.१,००,५६८।७५ को बिल नगरपालिकाको कार्यालयमा पेश गरी बढी भुक्तानी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) वमोजिम कसुर गरेको देखिन आएकोले निजहरु सोनालाल प्रसाद यादव, नन्द किशोर साह कानु र गीता कुमारी साहलाई रु.१,००,५६८।७५ (एक लाख पाँच सय अठ्सठ्ठी रुपैयाँ र पैसा पचहत्तर) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) वमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
भोला दाहाल