काठमाडौँ, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आक्रोशित बनेको छ । सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए । यही अभिव्यक्तिको नेकपा एमालेले विरोध गरेको हो ।

बुधवारको प्रतिनिधिसभाको बैठक बस्नुअघि एमालेका अध्यक्ष केपीशर्मा ओलीले आफ्ना पार्टीका सांसदलाई बैठकमा बोलाएका छन् । बानेश्वरस्थित संघीय संसद भवनमा रहेको ल्होत्से हलमा ओलीले सांसदलाई साढे १ बजेका लागि बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री दाहालले के भनेका थिए ?
सोमबार काठमाडौँमा लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’ (द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल) को विमोचन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवसायी सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए ।

कार्यक्रममा मन्तव्यका क्रममा उनले आफूलाई प्रधानमन्त्री बनाउन सरदार सिंहले दिल्ली र नेपाल कयौँ पटक राजनीतिक दौडधूप गरेको स्मरण गरे ।
प्रधानमन्त्री दाहालले भनेका थिए, ‘यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ राजनीतिमा पनि रुची राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटी दिल्ली जानुपनि भयो’, उनले अगाडि भने, ‘काठमाडौँका पार्टीहरूलाई, नेताहरूलाई पार्टीहरूसँग पनि उहाँ लगातार छलफल गर्नुभयो । उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ । म शान्ति प्रक्रियामा आएदेखि नै निरन्तर अन्तरक्रिया, सहकार्य हुने गर्यो ।’
पुस्तक विमोचन कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवसहित सहभागी थिए ।
को हुन् प्रितम सिंह ?
भारतीय नागरिक प्रितम सिंहको पेशा पाइलट थियो । तर उनी ७० वर्षअघि नै नेपाल छिरेका थिए । उनी नेपाल छिर्दा तीनवटा ६ चक्के ट्रक लिएर आएका थिए । नेपालमा पहिलो पटक ३ वटा ट्रकसहित ढुवानीको जग बसालेकाले प्रितम सिंहलाई नेपालमा ‘ट्रान्सपोर्ट पायोनियर’ उपनाम पनि दिइएको छ । सन् १९५७ मा २२ वर्षको हुँदा प्रितम जम्मुकश्मिरबाट पिता कहनसिंहसँगै ट्रकबाट काठमाडौँ छिरेका थिए ।
उनीहरूको त्यो ट्रक नै नेपालमा भित्रिएको पहिलो ट्रक थियो । त्यही बेलादेखि नेपालमा सार्वजनिक ढुवानीको जग बसेको बताइन्छ । भारतमा जन्मिएर नेपाललाई कर्मभूमि बनाएका प्रितमले नेपाल पब्लिक मोटर्स सर्भिस कम्पनी खोलेका थिए । उनले यातायातबाट नेपालको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए ।