काठमाडौँ, १९ असार । आईसीसी क्रिकेट विश्वकप छनोटको सातौँ स्थानको खेलमा नेपालले आयरल्यान्डललाई २६९ रनको लक्ष्य दिएको छ ।
मंगलबार जिम्बाब्वेको हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा भएको प्लेअफ चरणको खेलमा टस हारेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २६८ रन बनायो ।
नेपालका लागि गुल्सन झाले अर्धशतकीय पाली खेल्दै अविजित ५७ रन बनाए । उनले ४२ बलको सामना गरी तीन छक्का र चार चौका प्रहार गरे । त्यस्तै अर्जुन साउदले ४८ रन बनाए । कुशल मल्लले ४४ र सन्दीप लामिछानेले ३२ रन बनाए । सन्दीप र गुल्सनले ८० रनको साझेदारी गरेका थिए ।