Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १८ असार । काठमाडौँ महानगरपालिकाले छात्रवृत्तिका लागि आफैँले परीक्षा लिने भएको छ ।

महानगरभित्र सञ्चालित निजी विद्यालयबाट उपलब्ध गराइने छात्रवृत्तिका लागि काठमाडौँ महानगरपालिका आफैले परीक्षा लिने भएको हो । नगर प्रमुख बालेन्द्र साहले नियमले तोकेको सीमाभित्र रहेर उक्त परीक्षा महानगरले नै सञ्चालन गर्ने जनाएका छन् ।

कामपा शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भएबमोजिम महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीलाई दिने छात्रवृत्तिका लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/८१ देखि आफैँले सञ्चालन गर्ने तयारी गरेको महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिए ।

उनकाअनुसार उक्त परीक्षा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब, जेहेन्दार तथा पिछडिएको क्षेत्र, आदिवासी जनजातिलगायत क्षेत्रबाट छात्रवृत्तिको परीक्षा लिने र छनोटमा परेकालाई वितरण गरिने छ । यो छात्रवृत्ति कक्षा ११ का लागि मात्रै हो । कक्षा १ देखि माध्यमिक तहसम्मका लागि पनि कामपा आफैँले परीक्षा सञ्चालन गरेर योग्य विद्यार्थी छनोट गर्ने तयारीमा छ ।

छात्रवृत्ति दिँदा अब हरेक विद्यालयलाई कोटा निर्धारण गरिने र त्यसका लागि विद्यार्थीसँग आवेदन आह्वान गरिनेछ । कामपाले नै प्रवेश परीक्षा सञ्चालन गरी सिफारिस गरेका विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था लागू गर्ने तयारी गरेको छ । कामपाको पटक–पटकको ताकेतापछि पछिल्लो समय निजी विद्यालयले छात्रवृत्ति दिएको विवरण पेस गर्न थालेका छन् ।

प्रत्येक विद्यालयले जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने हुन्छ ।

कामपाले चालु शैक्षिक सत्रको गत जेठ २८ गतेभित्र १० प्रतिशतलाई छात्रवृत्ति उपलब्ध गराएको विवरण पेस नगरे विद्यालयको सम्बन्धन खारेज गर्ने र विद्यालयमा ताला लगाउने चेतावनी दिएको थियो । कामपा विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं कामपाको शिक्षा ऐन, २०७५ को दफा ५० मा भएको व्यवस्थाअनुरूप छात्रवृत्ति वितरणको विवरण पेस गर्नुपर्ने हुन्छ ।

जम्मा विद्यार्थीमध्ये १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था हुँदाहुँदै महानगरमा सञ्चालित झण्डै ७० प्रतिशत विद्यालयले विवरण पेस नगरेपछि कामपाले नियमअनुसार छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयको नाम नै सार्वजनिक गरेपछि निजी विद्यालय विवरण लिएर आएका हुन् । हाल कामपामा ५०४ निजी तथा ८९ सामुदायिक विद्यालय सञ्चालनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *