झापा, १८ असार । झापाको मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । हात्तीको आक्रमणमा परी मेचीनगरमा नगरपालिका–१० की ८० वर्षीया पन्नादेवी साहको मृत्यु भएको हो ।
पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेको स्थानीयले बताएका छन् । सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन् ।
झापामा ६ दिनअघि मात्र जङ्गली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जङ्गली हात्तीले किल्चेर मारेको थियो । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको जानकारी दिएका छन् ।