काठमाडौँ, १७ असार। आईसीसी विश्वकप छनोटको प्लेअफ खेलमा नेपालले यूएईलाई तीन विकेटले पराजित गरेको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा भएको खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले जित दर्ता गराएको हो ।
१ सय ८२ रनको लक्ष्य पछ्याएको नेपालले ४३.२ ओभरमा ७ विकेटको गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र ८५ बलमा ७ चौका र २ छक्कासहित ७९ रनमा अविजित रहे ।
सन्दीप लामिछानेले ३७ बलमा २ चौकासहित २३ रनमा नट आउट रहे । आठौँ विकेटका लागि दीपेन्द्र र सन्दीपले १५ ओभरमा ७९ रनको अविजित साझेदारी गर्दै खेल सकाए ।
नेपाललाई सातौँ विकेटका लागि दीपेन्द्रले गुलशन झासँग ४३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । गुलशन २४ बलमा १ चौकासहित १२ रनमा आउट हुन पुगेका थिए ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएई ४६.५ ओभरमा १ सय ८१ रनमा अल आउट भएको थियो । यूएईका कार्यवाहक कप्तान वृत्य अरविन्दले ७५ बलमा ४ चौकासहित सर्वाधिक ४४ रन बनाएका थिए । तर त्यो रन जितको लागि पर्याप्त हुन सकेन ।
नेपाल सातौँ स्थानको लागि मंगलबार आयरल्यान्डसँग खेल्नेछ । विश्वकप छनोटमा त्यो नेपालको अन्तिम खेल हुनेछ ।
उक्त खेलमा विजयी भएमा नेपाल सातौँ र पराजित भएमा आठौँमा रहेर विश्वकप छनोट अन्तय गर्नेछ । नवौँ स्थानका लागि अमेरिका र यूएईबीच बिहीबार प्रतिस्पर्धा हुनेछ । नेपाल समूह ए मा ४ मा खेलमा ३ मा हार र १ मा जितका साथ बाहिरिएको थियो ।