विराटनगर, १७ असार । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन् ।
प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेका हुन् । यसका लागि दलहरूलाई ५ दिनको समय दिइएको छ ।
दलहरूले बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ । प्रदेश प्रमुखको कार्यालयको सूचना अनुसार असार २१ गते ५ बजेसम्ममा दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन् । यसअघि शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए ।
सत्ता नेतृत्व गुमाएको एमालेले भने उपधारा २ अनुसारको सरकार आफ्नो भएको र अब उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बनाउन आह्वान हुनुपर्ने भन्दै प्रदेश प्रमुखलाई माग गरेको थियो । तर, कानुनी परामर्श र महान्यायाधिवक्ता समेतको रायमा उपधारा २ अनुसारको सरकार बनाउन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
कोशी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि केन्द्रीय सत्ता गठबन्धनमा रहेका घटकहरू नयाँ सरकार बनाउन जुटेका छन्। यसका लागि शीर्ष नेताहरूसँग छलफलका लागि नेताहरू काठमाडौँ पुगेका छन् । ९३ सदस्यीय प्रदेश सभामा एक मत नपुगेर एमालेका हिक्मत कार्की नेतृत्वको सरकार ढलेको थियो। कार्कीले ४६ मत पाएका थिए भने विपक्षमा ४३ मत आएको थियो। सरकार गठन गर्न ४७ मत आवश्यक हुन्छ।
प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३ (सभामुखसहित) राप्रपाका ६, एकीकृत समावादीका ४ र जसपा १ सांसद छन्।
