सामाजिक फीड-
काठमाडौँ, १३ असार।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिनिधिसभाले पारित गरेको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकले बजेट बहुमतले पारित गरेको हो । मत विभाजनमा सहभागी २५५ सांसदमध्ये बजेटको पक्षमा १४७ मत र विपक्षमा मत १०८ मत परेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले बजेटको पक्षमा मतदान गरेका छन् भने एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, लोसपा, जनमत र नेमकिपाले विपक्षमा मतादान गरेका छन् ।
सभामुखले ध्वनी मतको आधारमा बजेट पारित गर्ने प्रक्रिया अघि बढाउन लागेपछि एमालेले मत विभाजनको आधारमा प्रक्रिया अघि बढाउन सभामुखसँग माग गरेको थियो ।
गत जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब, ५१ अर्ब ३१ करोडको बजेट संसदमा प्रस्तुत गरेको थियो ।