काठमाडौँ, १३ असार। जनमत पार्टीले बजेटको विपक्षमा मतदान गर्ने भएको छ । बुधबार बसेको संसदीय दलको बैठकले संघीय सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
गरिबमारा, मधेश विरोधी, जनतामारा, असमान बजेटलाई समर्थन नगर्ने निर्णय भएको पार्टीले जनाएको छ । देशकै अर्थतन्त्र धरासायी भइराखेका बेलामा लूटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट संशोधनबिना कुनै पनि हालतमा स्वीकार्य नहुने पनि जनमत पार्टीले स्पष्ट पारेको छ ।
डेढ महिना बजेटमाथि बहस गर्ने तर अन्तिममा आएर त्यही बजेटलाई संशोधनबिना समर्थन गरिदिने निरर्थक संसदीय अभ्यास र निरीह संसद्को खिलाफ पनि जनमत पार्टीको यो कदम महत्वपूर्ण र ऐतिहासिक रहेको पार्टीका अध्यक्ष डा. सीके राउतले जनाएका छन् । अन्य पार्टीका सांसद्ले बजेटमा समर्थन जनाउन लागेकाप्रति पनि उनले आक्रोश व्यक्त गरेका छन् ।
पार्टीका अध्यक्ष डा. राउतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफूले बोलेको कुरामा ५-६ जना थप सांसदले मात्रै अडिग रहन हिम्मत गर्ने हो भने यो जनतामारा बजेट पारित हुने नै थिएन । तर बोल्ने बेलामा एउटा अनि लोभलालचमा परी त्यही जनतामारा बजेटलाई समर्थन गरिदिने परिपाटी र बोलीको ठेगान नभएका तथा रतिभर अडान नभएका नेता सांसदले गर्दा नै यो देश श्रापित भएको छ।’
दलका डा. राउतले सुरुवातदेखि नै बजेट समावेशी नभएको र मधेशलाई उपेक्षा गरिएको आरोप लगाउँदै आएका थिए ।