Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ८ असार । नेपाल चलचित्र संघले ‘आदिपुरुष’ बाहेक अन्य हिन्दी चलचित्र चलाउने निर्णय गरेको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

बिहीबार उच्च अदालत पाटनले काठमाडौँ महानगरका सिनेमा हलहरूमा भारतीय चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । संघको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

यही आदेशको सम्मान गर्दै शुक्रबारबाटै नेपालभर फिल्म प्रदर्शन गर्ने निर्णय गरेको संघले जनाएको छ । यस्तै नेपाल कानुनको अधिनमा रही स्वतन्त्र रूपमा व्यवसायी गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार रहेकोसमेत संघले बताएको छ ।

अल्पकालीन अन्तरिम आदेश दिएको अदालतले दुवै पक्षलाई असार १२ गते छलफलका लागि बोलाएको छ ।

भारतीय चलचित्र ‘आदिपुरुष’ मा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएको भन्दै काठमाडौँका मेयर बालेन साहले गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइदिएका थिए ।

बालेनको यो निर्णयविरुद्ध हलबालाहरू अदालत पुगेका थिए ।

यता, मेयर साहले अदालतको आदेश नमान्ने अडान लिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् बालेनले भारतीय फिल्मको प्रदर्शन हुन नदिन आफू जुनसुकै सजाय भोग्न तयार हुने पनि बताएका छन् । उनले अदालत र नेपाल सरकार भारतको गुलाम भएकोसमेत आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *