Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ८ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा मधेश प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा सत्य नभएको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले सङ्घीयताको मर्म अनुरूप सङ्घबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशतभन्दा बढी रकम मधेश प्रदेशमा जाने गरेको बताएका छन् । उनले सङ्घबाट सञ्चालन हुने पूर्वपश्चिम राजमार्ग पथलैया वीरगञ्ज कोरिडोर चन्द्रपुर गौर राजमार्ग, हुलाकी राजमार्ग, सुनकोशी मरिनडाइभर्सन, बागमती कमला चन्द्रनहरलगायतका सिँचाइ आयोजना विभिन्न औद्योगिक पूर्वाधार तथा व्यापारिक पूर्वाधार आयोजनाहरू तराई मधेशलाई लक्षित गरी नै अगाडि बढाएको बताए ।

प्रधानमन्त्री दाहालले तराई मधेश समृद्धि कार्यक्रम, मधेशलाई काठमाडौँसँग जोड्ने द्रुतमार्गलगायतका ठूला परियोजना पनि मधेश प्रदेशमा पर्नेमा तिनको समयबद्ध कार्यान्वयनका लागि बजेट विनियोजन गरिएको जनाए ।

त्यस्तै, दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आर्थिक वर्ष २०८०/८१ भित्र साइट क्लियर गरिसक्ने योजना रहेको जनाएका छन् । संघीय सरकारले कर्णालीभन्दा पनि कम बजेट मधेशलाई दिएको भन्दै मधेशी सांसदहरूले आपत्ति जनाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *