काठमाडौँ, ६ असार । टेलिभिजन च्यानलसमेत वितरण गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई सर्वसाधारणबाट अतिरिक्त रकम नसुल्न निर्देशन दिएको छ ।
टेलिभिजन च्यानलसमेत वितरण गर्ने इन्टरनेट सेवा प्रदायकले ग्राहकसँग टेलिभिजनको अलग्गै शुल्क लाग्ने भन्दै सर्वसाधारणबाट गैरकानुनी रूपमा पैसा असुल्न थालेपछि सरकारले उक्त निर्देशन दिएको हो ।
सूचना तथा प्रसारण विभागले केही वितरक संस्थाले टेलिभिजन र इन्टरनेटको अलग बिल बनाउने नाममा थप रकम उठाइरहेको गुनासो आएको भन्दै कारबाहीको समेत चेतावनी दिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत चैत २४ गते उपभोक्तालाई टेलिभिजन हेरेवापतको शुल्क कम गर्ने उद्देश्यले आलाकार्ट मूल्य प्रणाली लागू गरेको थियो ।
दर्शकले चाहेको च्यानल हेरेवापतको पैसामात्र लिन पाइने नियम बनिसकेपछि पनि सेवा प्रदायकले इन्टरनेट र टिभीको फरक बिल बनाउन मन्त्रालयले भनेको भन्दै पैसा असुलेको आरोप छ ।
मन्त्रालयले टेलिभिजनको शुल्क बढाएको भ्रममा नपर्न आग्रह गर्दै सूचना तथा प्रसारण विभागले सूचना जारी गरेर अतिरिक्त शुल्क उठाउने कार्य तत्काल बन्द गर्न भनेको छ ।