Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ६ असार । नागरिकताविहीनहरूमाथि प्रहरीले दमन गरेको भन्दै सांसद डा. अमरेशकुमार सिंहले घटनाको निन्दा गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद डा. सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा मंगलबार धर्नामा बसिरहेकाहरूमाथि दमन भएको भन्दै घटनाको निन्दा गर्नुभएको हो ।

सांसद सिंहले नागरिकलाई प्रहरी लगाएर दमन गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गर्नु भएको हो । उहाँले नागरिकतासम्बन्धी मुद्दालाई किनारा लगाउन ढिलाइ नगर्न सर्वोच्च अदालतको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सिंहले भन्नुभयो, ‘केही दिनदेखि नागरिकता नपाएकाहरू माइतीघर मण्डलामा धर्नामा बसेका छन् । साथसाथै संविधानसभाका सदस्य रामकुमार शर्मा पनि आमरण अनसनमा बस्नुभएको छ । उहाँ अहिले वीर अस्पतालमा हस्पिटलाइज हुनुहुन्छ । एकातिर २०७२ मा संविधान जारी भयो । तत्काल नागरिकता कानुन बनाउनुपर्ने तर हाम्रा राजनीतिक दल, तत्कालीन सबै सरकार त्यसमा चुकेका छन् । जुन नागरिकसँग उचित व्यवहार हुनुपर्ने । त्यो पनि सरकारले गर्न सकिरहेको छैन । मंगलबार नै उनीहरूसँग जुन व्यवहार भएको छ । त्यसको भत्सर्ना गर्न चाहन्छु । किनकी कुनै पनि नागरिकमाथि प्रहरी दमन नहोस् भन्ने सरकारसँग माग गर्न चाहन्छु ।’

सांसद डा. सिंहले २०७२ मा संविधान जारी भए पनि तत्काल नागरिकता कानुन बनाउने कार्यमा राजनीतिक दल र तत्कालीन सबै सरकार चुकेको बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *