Samajik Feed – News Portal from Nepal

बझाङ, ५ असार । सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । गाडी दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो दुई बजेतिर केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो । गाडी अन्दाजी ५० मिटर तल कालंगा खोला किनार बजुवा बगरमा खसेको थियो ।

गम्भीर घाइते भएका सिंहलाई नेपाली सेनाको हेलिकप्टरमार्फत कोहलपुर लगिएको थियो । दुर्घटनामा परेका मन्त्री सिंहकी पत्नी अमृता सिंह र उनकी भाउजू जयादेवी सिंहको भने बझाङको केदारस्युँ गाउँपालिकामा रहेको देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका मन्त्रीका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्थामा पनि गम्भीर रहेको अस्पतालले जनाएको छ ।

मन्त्री सिंह गत चुनाव बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *