Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ५ असार । नागरिकताविहीनलाई नागरिकता नदिएको भन्दै सत्याग्रहमा बसेका नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ । काठमाडाैँस्थित माइतीघर मण्डलामा आमरण अनशन बसेका नेता शर्मालाई गएराति वीर अस्पतालमा भर्ना गरिएको हो ।

उनी असार १ गतेदेखि आमरण अनशनमा बसेका छन् । शर्माकी श्रीमती इन्दु शर्माले राति सुगर र प्लेटलेसमा समस्या आएपछि अस्पताल भर्ना गरेको बताइन् । उनले प्लेटलेस अलिअलि सुधार आए पनि सुगर कन्ट्रोलमा नआएको पनि बताइन् । नेता शर्मा अझै आमरण अनसनमै छन् ।

डाक्टरले मुखबाट खाना खानका लागि आग्रह गरे पनि नेता शर्माले आफू आमरण अनसनमा बसेको कारण माग पूरा नभएसम्म खान नखाने अडान लिएका छन् । डिस्चार्ज भएमा पुनः माइतीघरमा नै गएर अनसन बस्ने उनको तयारी रहेको छ । नागरिकताविहीनलाई नागरिकता नदिएको भन्दै नेकपा माओवादी केन्द्रका नेता शर्माले केही दिनअघि जनकपुरधाममा पत्रकार सम्मेलन गरी सत्याग्रह गर्ने घोषणा गरेका थिए ।

उनले संविधान जारी भएको करिब आठ वर्ष भइसक्दासमेत लाखौँ युुवालाई नागरिकताबाट वञ्चित गरी राज्यले उनीहरूको जीवनसँग खेलबाड गरेको आरोप लगाएका छन् । नागरिकता दिने आदेश सर्वाेच्च अदालतबाट नआउँदा लाखौँ नेपाली युवा बिचल्लीमा परेकाले अविलम्व नागरिकता प्रदान गर्ने फैसला सर्वाेच्च अदालतले गर्नुपर्ने उनको माग छ ।

नागरिकता विधेयक संघीय संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भइसक्दासमेत अनेक बाहानामा कार्यान्वयन गर्न षड्यन्त्र हुँदै आइरहेको उनको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *