काठमाडाैँ, ४ असार । नागरिकताविहीनलाई नागरिकता नदिएको भन्दै नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले सत्याग्रह जारी राखेका छन् । नेता शर्माले आइतबारबाट काठमाडौँको माइतीघर मण्डलामा सत्याग्रह जारी राखेका हुन् । उनले संविधान जारी भएको करिब आठ वर्ष भइसक्दासमेत लाखौँ युवालाई नागरिकताबाट वञ्चित गरी राज्यले उनीहरूको जीवनसँग खेलबाड गरेको आरोप लगाएका छन् ।
नागरिकता दिने आदेश सर्वाेच्च अदालतबाट नआउँदा लाखौँ नेपाली युवा बिचल्लीमा परेकाले अविलम्व नागरिकता प्रदान गर्ने फैसला सर्वाेच्च अदालतले गर्नुपर्ने उनको माग छ । नागरिकता विधेयक संघीय संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भइसक्दासमेत अनेक बाहानामा कार्यान्वयन गर्न षड्यन्त्र हुँदै आइरहेको पनि उनको आरोप छ ।
नेता शर्माले जनकपुरधाममा पत्रकार सम्मेलन गरी नागरिकता प्रदान गर्ने आदेश अविलम्व नआए असार १ गतेदेखि सत्याग्रहमा बस्ने चेतावनी दिएका थिए । साेही घोषणाअनुसार उनी सत्याग्रहमा बसेका हुन् ।