काठमाडौँ, ४ असार । भारतीय चलचित्र ‘आदिपुरुष’ को प्रदर्शन देशभर रोक्ने वितरण कम्पनीले निर्णय गरेको छ । यो चलचित्रको नेपाल वितरण कम्पनी ब्याङ्कटेस फिल्म्सले विज्ञाप्ति जारी गर्दै प्रदर्शन नगर्ने जानकारी गराएको हो ।
कम्पनीका निर्देशक मनोज राठीले सिर्जित अवस्थाका कारण प्रदर्शन रोकिएको जानकारी दिएका छन् । काठमाडौँ महानगरपालिका प्रमुख बालेन साहले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि कम्पनीले यस्तो निर्णय गरेको छ ।
यसैबीच, ‘आदिपुरुष’को प्रदर्शन रोकिएपछि नेपाली हल सञ्चालकहरू त्यसविरुद्ध कानुनी बाटो अपनाउने तयारीमा लागेका छन् । हल व्यवसायीहरूको छाता संगठन चलचित्र संघले सेन्सर भइसकेको फिल्मलाई यसरी रोक्ने काम गर्न नहुने भन्दै कानुनी बाटोमा जाने तयारी गरेको हो । तर, फिल्मको उक्त विवादित संवाद नेपालमा मात्रै सेन्सर गरिएको छ । भारतमा भने सेन्सर गरिएको छैन ।