जनकपुरधाम, ३१ जेठ । वरिष्ठ चिकित्सक स्वर्गीय डा. रामकेवल साहको स्मृतिमा अक्षयकोषको स्थापना हुने भएको छ । स्वर्गीय डा. साहका छोराहरू इन्जिनियर धीरज साह र डा.नीरज साहले प्रारम्भमा १० लाखको अक्षयकोष स्थापना गर्ने जानकारी दिनुभएको हो ।
अक्षयकोषबाट जेहेन्दार तथा आर्थिक रूपले समस्यामा परेका छात्र–छात्राहरूलाई छात्रवृत्तिका साथै अशक्तहरूको उपचारमा सहयोग गरिनेछ । यसैबीच, स्वर्गीय डा. साहको श्राद्ध–कर्म भोजभतेर नगरी सामान्य रूपमा गर्ने पनि परिवारले जानकारी दिएको छ ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसमेत रहेका ६९ वर्षीय डा. साहको जेठ २४ गते उपचारका क्रममा असामयिक निधन भएको थियो । उहाँको जन्मको धनुषाको सबैलामा भएको थियो । आर्थिक रूपमा अत्यन्त कमजोर परिवारमा जन्मिएका साह चिकित्सा शास्त्रमा उच्च शिक्षा प्राप्त गरी प्रतिष्ठित हाड–जोर्नी तथा नशा रोग विशेषज्ञ बन्न सफल हुनुभएको थियो ।
कलेजोसम्बन्धी रोगबाट पीडित उहाँको केही दिनदेखि भारत गुडगाँवस्थित नारायण सुपरस्पेशलाटी अस्पतालमा उपचार भइरहेको थियो । डा. साहले मधेशमा स्वास्थ्य क्षेत्रको विकास तथा विस्तारमा अतुल्नीय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले जानकी मेडिकल कलेज, नर्भिक इन्टरनेशनल होस्पिटल, नेपाल मेडिकल टिचिङ होस्पिटललगायत अस्पतालमा सेवा गर्नुभएको थियो । डा. साह सामाजिक कार्यमा पनि उत्तिकै योगदान दिनुभएको थियो ।