काठमाडौँ, ३० जेठ । नागरिकता नदिएको भन्दै काठमाडाैँमा संघर्षरत एक युवा आत्मदाहको प्रयास गरेका छन् । मोरङ कटहरीका निरजकुमार कामतले आज दिउँसो माइतीघरमा आत्मदाह प्रयास गरेका हुन् ।
सर्वोच्च अदालतले नागरिकता ऐन कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिको अगुवाइमा माइतीघरमा निरन्तर धर्ना तथा प्रदर्शन हुँदै आएको छ । मंगलबार पनि धर्नाका क्रममा कामतले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएका छन् ।
उनका बुवाले २०६४ मा जन्मका आधारमा नेपाली नागरिकता लिएका थिए । १८ वर्ष पुगेपछि नागरिकता लिने प्रयास गरेका निरज पछिल्लो पाँच वर्षदेखि नागरिकताका लागि आन्दोलनरत छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेकाे छ ।