Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, २६ जेठ । मैथिली भाषा, साहित्य र कलासम्बद्ध संघसंस्थाहरूले विभिन्न माग राखेर मधेश प्रज्ञा प्रतिष्ठानलाई मागपत्र बुझाएका छन् ।

शुक्रबार विभिन्न संघसंस्थाहरूले संयुक्त रूपमा १२ सूत्रीय माग राखी प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडि ‘भ्रमर’ लाई मागपत्र बुझाएका हुन् । यी संगठनहरूले मैथिली भाषाको संरक्षण तथा सम्बर्द्धनका लागि आवश्यक कदम उठाउन प्रतिष्ठानलाई दबाब दिएका छन् ।

उनीहरूले प्रतिष्ठानमा मैथिली विभाग गठन हुनुपर्ने, समावेशी मैथिली व्याकरणको प्रकाशन गर्नुपर्ने, समावेशी मैथिली शब्दकोषको निर्माण गर्नुपर्ने, प्रदेशमा मातृभाषाहरूको भाषिक सर्वेक्षण गराउनुपर्ने र प्रदेशमा सबैभन्दा बढी बोलिने मातृभाषा मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै, प्रत्येक वर्ष पाँच लेखकका एक–एक वटा मैथिली कृति प्रकाशन गर्नुपर्ने, नेपालमा रहेका मैथिली साहित्यकारहरूको परिचय कोश निर्माण गराउनुपर्ने, मैथिली भाषामा त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन गर्नुपर्ने, मैथिली नाटक, संगीत, कला, संस्कृति विशेष वार्षिक समारोहको आयोजना गराउनुपर्ने र हरेक वर्ष मिथिला भ्रमण अर्थात् सिम्रौनगढसहित ऐतिहासिक–सांस्कृतिक स्थानहरूको नाट्य कार्यक्रमको व्यवस्थापन गर्नुपर्ने, मैथिली माध्यममा शिक्षा प्रबर्द्धनका लागि जनचेतना अभियान चलाउनुपर्ने र लोपोन्मुख तिरहुता लिपि (मिथिलाक्षर) को संरक्षण सम्बर्द्धनका लागि प्रदेशका प्रत्येक जिल्लामा हरेक वर्ष कार्यक्रम सञ्चालन गराउनुपर्ने माग गरिएको छ ।

उनीहरूले मधेश प्रज्ञा प्रतिष्ठानको गठन प्रदेशवासी र सम्पूर्ण मातृभाषीका लागि गर्वको कुरा भएको भन्दै प्रतिष्ठानबाट प्रदेशका भाषाभाषीले धेरै अपेक्षा गरेको बताएका छन् । १२ बुँदे माग पूरा गर्न र गराउने दायित्व प्रतिष्ठानले पूरा गर्ने विश्वास पनि आफूहरूले लिएको ज्ञापनपत्र बुझाउन गएका मैथिली अभियानीहरूले बताएका छन् ।

त्यसक्रममा प्रतिष्ठानका अध्यक्ष कापडिले मैथिली भाषाको संरक्षणका लागि मागहरू उचित रहेको भन्दै यसलाई पूरा गर्न र गराउन आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए । मागपत्र बुझाउन मिनापका महासचिव शैलेन्द्र मल्लिक, रंगदर्पणका अध्यक्ष रीतेश पाटली, रामानन्द युवा क्लबका महासचिव रोशन मिश्र, कलाकार विपिन पाठकलगायत गएका थिए ।

मागपत्रमा मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह, मिथिला नाट्यकला परिषद्का अध्यक्ष परमेश झा, रंगदर्पणका अध्यक्ष रीतेश पाटली, गणेश युवा कमिटीका अध्यक्ष सन्तोष महतो, महावीर युवा क्लबका अध्यक्ष बलराम साह, रामानन्द युवा क्लबका अध्यक्ष शशिभूषण झा, जनचेतना अभियानका निर्देशक सुनिल यादवले हस्ताक्षर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *