काठमाडाैँ, २६ जेठ । अघिल्लो वर्षको तुलनामा यस वर्ष रेमिट्यान्समा वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्मको १० महिनामा १० खर्ब ५ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स रकम गत आर्थिक वर्षको सो अवधिको तुलनामा २३ दशमलव ४ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको वित्तीय विवरणअनुसार वैशाख महिनामा मात्रै १ खर्ब २ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यसअघि चैतमा १ खर्ब ९ अर्ब रुपैयाँ बराबर भित्रिएको थियो । अमेरिकी डलरमा रेमिट्यान्सको आप्रवाह गत वर्षभन्दा १३ दशमलव ४ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१ दशमलव ४ प्रतिशतले बढेको छ । १० महिनामा संस्थागत तथा व्यक्तिगत गरी ४ लाख २१ हजार २७९ नेपालीले श्रम स्वीकृति लिएका छन् ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ३८ हजार ९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५ दशमलव ५ प्रतिशतले बढेको थियो ।