सिरहा, २५ जेठ । सिरहाको कल्याणपुर नगरपालिकासँग सहमति भएपछि एक युवाले चार दिनदेखि जारी राखेको अमरण अनशन तोडेका छन् । कल्याणपुर नगरपालिका–१० का ३२ वर्षीय शुभेन्द्र साहले ८५ घण्टापछि अनशन तोडेका हुन् । उनी आइतबार बिहान ११ बजेदेखि अनशन बसेका थिए ।

परमेश्वर साह संयोजक रहेको नगरपालिकाको वार्ता टोली र अनशनरत पक्षका संयोजक गजेन्द्रप्रसाद साहको टोलीबीच सहमति भएको थियो । बुधबार राति ११ बजे लिखित सहमति भएपछि आफूले ‘गंगाजल’ ग्रहण गरी अनशन तोडेको शुभेन्द्रले बताएका छन् । शुभेन्द्रले उठाएका मागहरू पूरा गर्ने नगरपालिकाले प्रतिबद्धता जनाएको छ । उनी मेयर रामपुकार साहको काम गर्ने शैलीको विरोध गर्दै अनशनमा बसेका थिए ।

कल्याणपुर स्वास्थ्य चौकीको अधुरो पर्खाल अविलम्ब निर्माण गर्नुपर्ने, हालै नियुक्त गरिएका सब ईन्जिनियर, रोजगार प्राविधिक, सूचना प्राविधिक अधिकृत र अमिनहरूको नियुक्ति प्रक्रियाको छानबिन गर्नुपर्ने, नातावादमा आधारित कर्मचारी नियुक्ति खारेज गर्नुपर्ने, कल्याणपुरभित्र पर्ने सार्वजनिक जग्गा, गुठीको जग्गालगायतको संरक्षण गर्नुपर्ने, राधिका ट्रेडर्स सप्लायर्सलाई ठेक्का दिने काम बन्द गर्नुपर्नेलगायत माग उनले राखेका थिए ।

त्यस्तै, सामुदायिक विद्यालयले लिएको भर्ना शुल्क फिर्ता गर्नुपर्ने, हालसम्मको हरहिसाव सार्वजनिक गर्नुपर्ने, मलखादमा लागेको राजनीतिक सेन्डिकेट हटाएर वडास्तरीय किसान समिति गठन गर्नुपर्ने माग गरिएको थियो । यसअघि, अनशनका कारण शुभेन्द्रको ज्यान जान सक्ने भन्दै बुधबार स्थानीयवासीले नगरपालिका कार्यालयमा तालाबन्दी गरिदिएका थिए । चौतर्फी दबाब परेपछि मेयर साह शुभेन्द्रसँग वार्ताका लागि तयार भएका थिए ।