Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २४ जेठ । अत्यधिक गर्मी तत्काल नरोकिने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बुधबार विशेष बुलेटिन जारी गरी जेठ २४ देखि २८ सम्मको माैसम पूर्वानुमान सार्वजनिक गरेको हो । जसअनुसार तराई–मधेशका अधिकांश भूभागलाई ‘रेड जोन’ मा राखिएको छ । यस भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किनसमेत महाशाखाले सुझाव दिएको छ ।

यस्तो छ माैसम बुलेटिन:

हालको अवस्था ː

विगत केही दिनदेखि देशका अधिकांश भू-भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिन्छ । काठमाडाैँ उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भू-भागमा अधिकतम तापक्रम चालीस डिग्री सेल्सियस (४०°से) वा सो भन्दा बढी मापन भएको छ ।

चेतावनी तथा परामर्श– आगामी केही दिनसम्मको देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्ने देखिन्छ । हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ । तसर्थ, देशका तराई भू-भागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा लू (Heat wave) को सम्भावना यथावत् रहने देखिएकोले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।साथै पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहनु हुन अनुरोध छ।

सम्भावित असर तथा सुझावहरू– तातो हावा तथा लू बाट हुने सम्भावित असरहरू जस्तै ː थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन हुन अनुरोध छ ।

सुझावहरू– तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी Expose नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जूस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *