काठमाडौँ, २१ जेठ । नेकपा एमालेले आज संसद् अवरुद्ध गर्ने तयारी गरेको छ ।
नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा नेपाली भूमि कालापानी क्षेत्रको विकल्प खोज्न सकिनेबारे दिएको अभिव्यक्तिको विरोधमा एमालेले संसद् अवरुद्ध गर्ने तयारी गरेको हो ।
एमालेले दुवै विषयमा प्रधानमन्त्रीको जवाफ माग्ने जनाएको छ । एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ र माफी नमागेसम्म सदन अघि नबढ्ने बताएका छन् ।
राष्ट्रपतिले नागरिकता विधेयक राष्ट्रपतिले असंवैधानिक ढङ्गले प्रमाणीकरण गरेकाले सो निर्णय सच्चाउनुपर्ने एमालेको भनाइ छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले कालापानी–लिपुलेक क्षेत्र भारतलाई दिएर त्यही बराबरको भूमि बङ्गलादेश जोड्ने भूमि भारतबाट लिन सकिने बताएका थिए ।
आज बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ गते सदनमा पेस गरेको वार्षिक आयव्ययमाथि छलफल गर्ने कार्यसूची छ ।