नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन् । नयाँ दिल्लीस्थित आफू बसेको होटेल आईटीसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताएका हुन् ।
नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलियम पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबीच विभिन्न समझदारी भएको भन्दै प्रधानमन्त्री दाहालले जलविद्युत् क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए ।
महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने विषयमा दुई देशबीच सहमति भएको प्रधानमन्त्री दाहालले जानकारी दिए । सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलोपटक प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डले बताए । सीमामा देखिएका असमझदारी हटाउन गम्भीर भएर लागौँ भनेर आफूले प्रस्ताव गरेको उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा तथा जलविद्युत् विकास र व्यापार, पारवहन सम्झौताको पुनरवलोकन र नवीकरण, अन्तरदेशीय प्रसारणलाइन निर्माण, पेट्रोलियम पाइपलाइन निर्माण र विस्तार, एकीकृत जाँच चौकी निर्माण, महाकाली नदीमा पक्की पुल निर्माण, अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा यही जेठ १७ गतेदेखि भारतको औपचारिक भ्रमणमा छन् । भ्रमणका क्रममा बिहीबार प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड र भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड आज मध्य प्रदेशको इन्दौर गएका छन् । त्यहाँ रहँदा उनले मध्य प्रदेशका राज्यपालसँग भेटवार्ता तथा फोहोर व्यवस्थापन अभ्यासको अवलोकन गर्ने कार्यक्रम छ । रासस