काठमाडौँ, १६ जेठ । मलेसियामा जारी पाँच टी-२० महिला क्रिकेट खेलको शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले जित हासिल गरेको छ ।
मंगलबारको खेलमा नेपालले मलेसियामाथि ७ विकेटको जित निकाल्न सफल भएको हो ।
यूकेएम क्रिकेट ओभलमा मलेसियाले दिएको ९८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक अविजित २९ रन बनाइन् । उनले छक्का प्रहार गरी टिमको जित निश्चित गरेकी थिइन् । रुविनाले २१ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । ओपनरद्वय कविता कुँवर र सीता रानामगरले ३३ रनको साझेदारी गरेका थिए । सीता आउट भएपछि आएकी कविताले विन्दु रावलसँग मिलेर दोस्रो विकेटका लागि ३० रनको साझेदारी गरिन् ।
विन्दु १८ बलमा १७ रन बनाएर आउट भइन् । तेस्रो विकेटका रुपमा कविता २६ रन बनाएर आउट भइन् । सम्झना खड्का २ रनमा अविजित रहिन् ।
बलिङमा मलेसियाका एइसा इलिसा, निक नुर अटिएला र विनीफ्राइडले १-१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९७ रनको योगफल बनाएको थियो । मलेसियाका ओभरन विनीफ्राइड दुराइसिंगम र वान जुलियाले ३१ रनको सुरुवाती साझेदारी गरेका थिए । विनीफ्राइड २० रन बनाएर आउट भएपछि आएकी मास इलिसासँग मिलेर जुलियाले दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गरिन् ।
जुलियाले २० र इलिसाले २८ रन बनाए । अइन्ना हमिजाले १४ रन जोडिन् ।
बलिङमा नेपालकी कप्तान रुविना क्षेत्रीले २ विकेट लिइन् । उनले ४ ओभरमा १६ रन मात्र खर्चिन् । कविता कुँवर र इन्दू बर्माले एक/एक विकेट लिए । पहिलो खेलमा सोमबार ५० रनमै अलआउट भएपछि नेपालले दोस्रो खेलमा राम्रो प्रदर्शन गरेको हो । तेस्रो खेल बिहीबार हुनेछ ।