काठमाडौँ, १४ जेठ । टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरीको सजाय माफी दिन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले चौधरीलाई माफीका लागि सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् । जेठ १५ गते मनाइने गणतन्त्र दिवसका अवसरमा कैदी बन्दीको सजाय माफ दिने गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफ हुने संवैधानिक व्यवस्था छ । धारा २७६ मा ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।
यसअघि जेठ १२ गते चौधरीलाई माफी दिन माग गर्दै पठाइएको निवेदन राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमै फिर्ता गरिदिएको थियो ।
प्रचलित कानुन, यस सम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुन बमोजिम हुने गरी गर्न भनेर निवेदन गृहमा फिर्ता पठाइएको थियो ।