काठमाडौँ, ११ जेठ । १५ दिनदेखि अनसनरत बिनु यादवले अनसन तोडेकी छिन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग ५ बुँदे सहमति भएपछि यादवले माइतीघर मण्डलामा जारी राखेको अनसन तोडेकी हुन् ।
श्रीमान् र काका ससुराले बलात्कारको प्रयास गरेको र अदालतले जर्बजस्ती सम्बन्ध बिच्छेद गराएको जस्ता विषयको न्याययिक निरुपण हुनुपर्ने भन्दै उनी वैशाख २७ गते देखि अनसनरत थिइन् ।
उनले रामेछापको मन्थलीका प्रदीप कठायतले आफूलाई यातना दिएको बताउँदै आएकी छन् । कठायतले उनीसँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएका थिए । अदालतको फैसलापछि उनले अदालत परिसरमै विष सेवन पनि गरेकी थिइन् ।
पछि बिनुले प्रदीपका काका पवन कठायतविरुद्ध जबरजस्ती उद्योगको जाहेरी दिएकी थिइन् । केही महिनाअघि सर्वोच्च अदालत परिसरमा रातो रंग फ्याँक्दा पनि उनी पक्राउ परेकी थिइन् ।
यस्ताे छ पाँचबुँदे सहमति:
१. ‘सत्याग्रही बिनु यादवको सत्याग्रहका मागहरूमध्ये रामेछाप जिल्लामा चलेको जाहेरबाला बिनु यादव र प्रतिवादी पवन कठायत भएको जबरजस्ती करणी उद्योग मुद्दाको बदनियतपूर्वक अनुसन्धान एवं अभियोजन भएको भन्ने सम्बन्धमा र २०७६-०१-३० गते बिनु यादव जाहेरबाला र प्रतिवादी प्रदीप कठायत भएको जबरजस्ती करणी मुद्दा कालिमाटी प्रहरी महिला सेलमा तत्कालीन अवस्थामा दर्ता भई २०७६-०१-३० गते नै पीडितको स्वास्थ्य परीक्षणसमेत भइसकेको अवस्थामा पीडितलाई सुरज कार्कीसमेतले त्रासमा पारी २०७६-०२-०५ गते जाहेरी फिर्ता गराएको भन्ने सम्बन्धमा सो विषय हेर्ने प्रयोजनार्थ पीडित बिनु यादवले मुलुकी फौजदारी संहिता, २०७४ को दफा ९९ को कानुनी प्रक्रियाका लागि महान्यायाधिवक्ता कार्यालयको सम्बन्धित समितिमा छानबिन र अनुसन्धानका लागि आफ्नो तर्फबाट गृह मन्त्रालयमार्फत् पेश भएको निवेदनउपर कारबाहीका लागि महान्यायाधिवक्ताको कार्यालयमा पठाउने’ पहिलो सहमतिमा भनिएको छ ।
२. सत्याग्रही बिनु यादवका मागहरूमध्ये सम्मानित अदालतमा विचाराधीन रहेका विषयको हकमा सम्मानित अदालतबाट न्यायिक निरुपण हुने नै छ ।
३. अन्य मागका सम्बन्धमा क्षेत्राधिकार रहेको सम्बन्धित निकायमा लेखी पठाउने ।
४. सत्याग्रही बिनु यादवको पछिल्लो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य उपचार गर्न र निजको जिविकोपार्जनका लागि आवश्यक सहयोग गर्न महिला बालबालिका तथा नागरिक मन्त्रालयमा लेखी पठाउने ।
५. मिति २०७० वैशाख २७ गतेदेखि सत्याग्रह अनसन गरेकी बिनु यादवले आजकै मितिबाट सत्याग्रह अन्त्य गर्ने ।