Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका नेताहरूदेखि लिएर अनुसन्धान गर्ने अधिकारी र त्यसका प्रमुखसम्मको नाम आइरहेको भन्दै संसदीय विशेष समिति बनाएर यसको छानबिन हुनुपर्ने माग गरेका हुन्।

उनले भने, ‘भ्रष्टाचारको विषयलाई लिएर हामीले बारम्बार कुरा उठाउँदै आइरहेका थियौँ । तीन राजनीतिक दलहरू खुसुर खुसुर बसेको कुरालाई लिएर आशङ्का व्यक्त गर्दै आइरहेका थियौँ । आज कुनै राजनीतिक दल बाँकी रहेको छैन जसलाई आरोप लाग्न बाँकी रहेको होस् । त्यतिमात्र होइन, राज्यका निकायहरूको नाम यसरी आइरहेको छ, अनुसन्धान गर्ने अधिकारी, त्यसका प्रमुखहरूको नाम आइरहेको छ । यस्तो अवस्थामा यो कुनै अँध्यारो कोठामा, कुनै गल्लीमा भएको क्रियाकलाप छैन ।,’ सभापति लामिछानेले भन्नुभयो, ‘दिउँसै, दिन दहाडै, दिनको उज्यालोमा, प्रधानमन्त्री कार्यालय बालुवाटारमा, मन्त्री क्वाटरमा, मन्त्री बस्ने सिंहदरबारमा लेनदेन भएको यस्ता विषयहरू आइरहेका छन् । यहाँ मुछिएका मान्छेहरू हेर्नुस् । यो राज्यमा हामीले कसलाई विश्वास गर्ने ? त्यसकारणले विश्वासको वातावरण बन्द भएको छ । यसका लागि संसदीय विशेष समिति बनाएर यसको छानबिन गर्नुपर्ने हुन्छ ।’

सभापति लामिछानेले यस प्रकरणमा नाम आएकाहरू सबैसँग सोधपुछ नभएको भन्दै आपत्ति जनाए ।

‘हरेक नाम आएको मानिसलाई सोधपुछ हुनुपर्‍यो । उनलाई कारबाहीको दायरामा ल्याउनुपर्‍यो । खुट्टा कमाउनु भएन । हाम्रा हकमा, आम नागरिकका हकमा, बयान दिन आउँछु भन्दाभन्दै धरपकड गरेर लिएर गएको इतिहास छ । न्युज रुमबाट समातिएको मान्छे म यहीँ छु ।,’ सभापति लामिछानेले भन्नुभयो, ‘मान्छेले अडियो दिएका छन् । प्रहरी प्रमुखले अडियो सही हो भनेका छन् । एक पटक सोधपुछका लागि बोलाउन नहुने को हो उहाँहरू ? यत्रो ठुलो अन्तर्राष्ट्रिय बेइज्जत भएको अवस्थामा यो कदापि हुन दिँदैनौ । यो छानबिनले नेपाली जनताले चाहेको जस्तो नतिजा दिन सक्दैन । संसद्ले विशेष समिति बनाउनुपर्छ । म अनुरोध र माग गर्न चाहन्छु ।’

उनले प्रकरणमा नाम मुछिएकाहरूलाई छानबिन गर्न सरकारले खुट्टा कमाएको भन्दै खुट्टा नकमाउन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *