Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, ९ जेठ । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । गठबन्धनका केन्द्रीय नेताहरूबीच भएको बैठकको निर्णयविपरीत मुख्यमन्त्री सरोजकुमार यादव हिँडेको भन्दै माओवादी संसदीय दलको आज बसेको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले पनि सरकारबाट बाहिरिने निर्णय भएको पुष्टि गरेका छन् ।

मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

मन्त्रालय भागबण्डा मिलाउन सोमबार गठबन्धन घटक दलका नेताहरूबीच बैठक बसेको थियो । तर बैठकमा कुनै ठोस निर्णय हुन नसकेपछि आज बिहान फेरि बैठक बस्ने निर्णय भएको थियो ।

तर, मुख्यमन्त्री यादवले बैठक नगरी कांग्रेस र नेकपा एसलाई सरकारमा सहभागी गराएपछि माओवादी आक्रोशित बनेको हो ।

मुख्यमन्त्री यादवले मंगलबार कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्रकुमार सिंहलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका छन् ।

यसैगरी एकीकृत समाजवादीका गोविन्द न्यौपाने पनि मन्त्री नियुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *