जनकपुरधाम, ५ जेठ। मिथिलाञ्चलमा आज वटसावित्री अर्थात् वरसाइत पर्व मनाइँदैछ । पतिको दीर्घायु तथा कुशल दाम्पत्य जीवनको कामना गर्दै मिथिलाञ्चलका मैथिल महिलाहरूले यो पर्व धुमधामका साथ मनाइरहेका छन् ।

मैथिल महिलाहरूले मनाउने पर्वमध्ये वटसावित्री महान् पर्वका रूपमा रहेको छ । याे पर्व जेठ महिनाको औँसीको दिन मनाउने गरिन्छ । वटसावित्रीमा महिलाहरूले नयाँ पहिरनमा वरको वृक्षमा सामूहिक रूपमा विधिपूर्वक पूजा गर्ने परम्परा छ ।

पान, सुपारी, केरा, फलफूल, धूप–अगरबत्तीलगायत विभिन्न पुजन सामग्रीका साथ पूजापाठ गरी व्रतालु महिलाहरूले पतिको दीर्घायु तथा कुशल दाम्पत्य जीवनको कामना गर्दै वर र पिपलको वृक्षलाई रातो र पहेँलो धागोले बाँधेर पूजा गदर्छन् ।

पौराणिक कथाअनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी श्रीमती सावित्रीले वरको वृक्ष मुनि बसेर कठोर व्रत गरी श्रीमानको प्राण फर्काउन सफल भएकी थिइन् । यही मान्यताअनुसार महिलाहरूले पतिको दीर्घायुका लागि वटसावित्री पर्व मनाउने गरेका हुन् ।