बारा, ५ जेठ । बाराको निजगढमा सुरु भएको प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेश प्रदेशले पहिलो दिनको खेलमा अग्रता बनाएको छ। मधेश प्रदेशको पर्यटन र तेक्वान्दो खेलको विकासमा टेवा पुर्याउने उद्देश्यले गरिएको प्रतियोगिताकाे पहिलो दिन सम्पन्न पाँचवटा ताैल समूहको खेलमा मधेश प्रदेशले दुई स्वर्ण, दुई कांस्य र एक रजत पदक प्राप्त गरेको हो ।
पुरुष ४० किलो तौल समूहमा नादिम हुसैन र ४३ किलो तौल समूहमा सिद्धार्थ प्रजापतिले स्वर्ण पदक हात पारेका छन् । त्यस्तै पुरुष ४८ किलो तौल समूहमा लुम्बिनीका जस्मिन चौधरी, महिला ४० किलोतर्फ कर्णालीकी ललिता बुढा र महिला ४३ किलोमा बागमतीकी सदीक्षा कार्कीले स्वर्ण पदक हात पारेका छन् ।
प्रतियोगितामा नेपालका ७ प्रदेशसहित भारत, बंगलादेश, कोरिया, जापानका खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गर्नुभएको थियो । मधेश प्रदेश तेक्वान्दो संघले आयोजना गरेेको प्रतियोगितामा ५९ लाख खर्च हुने बताइएको छ ।