काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले एक महिनाभित्रै नागरिकतासम्बन्धी विधेयकको टुंगो लगाउने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको प्रश्नोत्तरमा जनता समाजवादी पार्टीका दीपक कार्कीको सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले नागरिकता विधेयकमाथिको अलमल एक महिनाभित्रै टुंगो लाग्ने बचन दिनुभएको हो ।
प्रधानमन्त्री बनेको ६ महिनाभित्र नागरिकता समस्या समाधान गर्ने भनेकोमा पाँच महिना बितिसक्यो भनेर सांसद कार्कीले प्रधानमन्त्रीलाई स्मरण गराएका थिए ।
प्रतिउत्तरमा प्रधानमन्त्री दाहालले भने, ‘जन्मसिद्ध नेपाली नागरिकका छोराछोरीले नागरिकता प्राप्त गर्नेसम्बन्धी विधेयक योभन्दा अघि दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ गएको कुरा हामी सबैलाई थाहै छ । पहिलो पटक राष्ट्रपतिबाट त्यो विधेयक फिर्ता भयो, हामीले दोस्रो पटक सदनबाट पारित गरेर पठाएको विधेयकसमेत तत्कालिन राष्ट्रपतिबाट प्रमाणीकरण भएन । संविधानअनुसार सदनबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यता थियो । तर तत्कालीन राष्ट्रपतिबाट न त त्यो विधेयक खारेज भयो, न फेरि फिर्ता पठाउन मिल्ने स्थिति थियो, बरू त्यसलाई होल्डमा राख्ने काम भयो । अब त्यसलाई कसरी अघि बढाउने भन्ने विषयमा विभिन्न विकल्पहरू आएका छन् । प्रधानमन्त्रीका रूपमा म नागरिकता विधेयकमाथिको अलमल एक महिनाभित्रै टुंगो लाग्ने वचन दिन्छु ।’